काठमाडौं, भदौ २० । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिङ सडक खण्डको कृष्णभीरमा भित्तो काटेर २५२ मिटर लामो डाइभर्सन ट्र्याक खोलिएको छ।
भदौ १० गतेको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक भासिएको थियो। सडक अवरुद्ध भएपछि निर्माण व्यवसायीले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि तथा विज्ञहरूको समन्वयमा वैकल्पिक ट्र्याक निर्माण गरेका हुन्।
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार हाल खोलिएको ट्र्याकमा निर्माणका मेसिन सञ्चालन भइरहेका छन्। ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्तो सुधारलगायतका काम पूरा गरी बढीमा एक साताभित्र सवारीसाधन सञ्चालन गर्ने तयारी छ।
जटिल भूगोल र थप बाढीको जोखिमलाई ध्यानमा राख्दै भासिएको सडकभन्दा माथिल्लो भागमा ट्र्याक खोलिएको हो। तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीले कृष्णभीर, परेवाभीरलगायत विभिन्न स्थानमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध छ। सडक बन्द हुँदा पश्चिमबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित भएको छ।
हाल सवारीसाधनलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ। यससँगै अन्य वैकल्पिक ट्र्याक निर्माणको काम पनि अघि बढाइएको छ।














प्रतिक्रिया दिनुहोस्