जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार ०७:५६

गोरखामा बाढीले चार घर र फलामे पुल बगायो


काठमाडौं, भदौ २१ गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ।

गएराति करिब ३ बजे नाम्रुङ खोलामा आएको बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको प्रहरीले जनाएको छ।

बाढी आउन थालेपछि स्थानीयले समयमै घर छाडेर भागेकाले मानवीय क्षति भने भएको छैन।

बाढीले चुमनुब्री–४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको छ। मुहान क्षेत्रमा खोला केही समय थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।

बिहानदेखि बाढीको बहाव घटेको र खोला सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ। नाम्रुङ खोला बूढीगण्डकीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।