जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार ०७:१६

नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने


चितवन, भदौ २२ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडक मर्मत तथा तुइन खोला क्षेत्रमा भित्तो काट्ने र माटो कटानको काम गर्न सवारी आवागमन निश्चित समयका लागि रोक्न लागिएको हो।

प्रशासनले सार्वजनिक गरेको तालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र ४ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

यी समयबीचका आधा घण्टाको अन्तरालमा भने सवारी साधनलाई आवतजावत गर्न दिइनेछ। साँझ ६ बजेपछि सडक खुला रहनेछ।

मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम भइरहेको र सोही कारण सवारी चाप कम रहेकाले तुइन खोला क्षेत्रमा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार कृष्णभीरको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन नियमित नभएसम्म यो तालिका लागू हुनेछ।

प्रशासनले तोकिएको समयतालिका हेरेर मात्रै यात्रा तथा सवारी सञ्चालन गर्न यात्रु र चालकलाई आग्रह गरेको छ।