काठमाडौं, भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ्न देशवासीलाई आह्वान गर्नुभएको छ ।
सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भदौ १० गतेको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले बाढी र पहिरोबाट सडक, पुल तथा जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको बताउनुभयो ।
विपद्मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो । घाइतेको उपचार तथा बेपत्ताको खोजी र उद्धारलाई तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपालमा रहेका विदेशी नागरिकलाई समेत आफ्नै परिवारका सदस्यसरह व्यवहार गरिएको उल्लेख गर्दै उहाँले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले विपद्को समयमा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकको प्रशंसा गर्नुभयो ।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आवासको व्यवस्था गर्न उहाँले जोड दिनुभयो ।
यस्तै, प्राविधिक जनशक्ति, चिकित्सकीय टोली र उद्धार उपकरणसहित सहयोग गर्ने छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपति पौडेलले आभार व्यक्त गर्नुभयो ।
हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई जलवायु परिवर्तनसँग जोड्दै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायका लागि ठोस कदम चाल्न आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले अहिले राजनीतिक विवाद र एकअर्कालाई दोष दिने समय नभएको भन्दै राष्ट्रिय एकता र पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले ‘यो विभाजनको समय होइन, पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो’ भन्नुभयो ।
भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न नेपालको विकास मोडेलमै पुनर्विचार आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्