जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार २१:०३

भोटेकोशी बाढीका मृतकको सम्झनामा दीप प्रज्ज्वलन


काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा बेपत्ताहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा भएको कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसहित पर्यटन क्षेत्रका अधिकारी तथा व्यवसायी सहभागी थिए ।

कार्यक्रममा सहभागीहरूले केही समय मौनधारण गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै बेपत्ता नेपाली तथा विदेशी नागरिकको शीघ्र खोजी तथा उद्धारको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो ।

भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट आएको बाढीले रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीबाट त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुसमेत प्रभावित भएका छन् । पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क गराउने कार्यमा पर्यटन क्षेत्रका सरकारी तथा निजी निकायले सहकार्य गरिरहेका छन् ।