काठमाडौं, भदौ २२ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ४ हजार ९९४ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै ३ सय ६३ जनाको शव फेला परेको छ । नवलपरासी पश्चिममा २ सय २१, नवलपरासी पूर्वमा २ सय २३, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
हालसम्म ९८ वटा शवको सनाखत गरी परिवारलाई बुझाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमुना दिन सकिने प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । सम्पर्कविहीन हुनेमा नुवाकोटबाट मात्रै २ हजार ३ सय ४० जना छन् । यस्तै, रसुवा जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार रसुवाबाट १ हजार ९ सय ६७ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनको संख्या ठूलो रहेकाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।
बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६७६ जनाले उपचार सेवा लिएका छन् । विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखी खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी निकाय खोज, उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।














प्रतिक्रिया दिनुहोस्