जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार २१:१३

त्रिशूली–३ ‘बी’ उद्धारमा ढिलाइप्रति आफन्तको आक्रोश, ‘गृहमन्त्रीज्यू, काम गरिदिनुस्’


काठमाडौं, भदौ २२ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गर्दै आफन्तहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्नुभएको छ ।

बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै आफन्तहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रदर्शनमा सहभागी एक महिलाले बाढी आएको सुरुवाती चरणमै आवश्यक अन्तर्राष्ट्रिय तथा प्राविधिक सहयोग लिइएको भए उद्धार कार्य थप प्रभावकारी हुन सक्ने बताउनुभयो । सरकारले उद्धार भइरहेको बताइरहे पनि त्यसको अपेक्षित परिणाम देखिन नसकेको उहाँको गुनासो छ ।

उहाँले आयोजनास्थलको भौगोलिक अवस्था कठिन भए पनि आधुनिक प्रविधि र आवश्यक उपकरण प्रयोग गरेर खोजी कार्य अघि बढाउनुपर्ने बताउनुभयो । सामान्य हँसिया र कोदालोजस्ता उपकरण प्रयोग गरेर मात्रै उद्धार सम्भव नहुने उहाँको भनाइ छ ।

प्रदर्शनमा सहभागी अर्की महिलाले गृहमन्त्रीलाई उद्धार कार्यमा थप सक्रियता देखाउन आग्रह गर्नुभयो । आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यू, तपाईं काम गरिदिनुस्, हामी आवश्यक सहयोग गर्न तयार छौँ ।’

विदेशी तथा अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको अवस्थामा त्यसलाई समेत उपयोग गरेर बेपत्ताको खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने आफन्तहरूको माग छ ।

उहाँहरूले सरकारलाई प्रचारमुखी गतिविधिभन्दा बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।