काठमाडौं, भदौ २२ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले स्रोत, साधन र समयको सीमितताका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइने बताउनुभएको हो ।
उहाँका अनुसार बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । सुरक्षाकर्मीले जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खोज तथा उद्धार गरिरहेका छन् ।
रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्सका संरचना तथा पावरहाउस र अन्डरग्राउन्ड पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ । नेपाली सेना सुरुङभित्र करिब २ सय ७५ मिटरसम्म पुगे पनि हालसम्म व्यक्ति फेला नपरेको उहाँले बताउनुभएको छ । हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्याएर खोजी कार्य भइरहेको उहाँको भनाइ छ ।
लाङटाङ जलविद्युत् आयोजनामा खोजीलाई प्रभावकारी बनाउन बबक्याट एस्काभेटरसहित आवश्यक उपकरण प्रयोग भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेरामार्फत खोजी भइरहेको उहाँले बताउनुभएको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि थप उपकरण पुर्याउने काम भइरहेको र सुरुङमा थप गहिराइसम्म उत्खनन गरेर खोजी जारी राखिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ ।
उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित रहेको र जोखिमपूर्ण अवस्थामा पनि सुरुङभित्र खोजीलाई निरन्तरता दिइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्