काठमाडौं, भदौ २३ । अर्जेन्टिनाको एट्लान्टिक महासागर रातारात सुकेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोले अहिले विश्वभर चर्चा पाएका छन्। भिडियोमा समुद्रको पानी पछाडि हटेर विशाल बालुवाको क्षेत्र देखिएको छ भने डुङ्गाहरू अलपत्र परेको र पानीमुनिको संरचना बाहिर आएको देखिन्छ।
तर, अर्जेन्टिनाको समुद्र स्थायी रूपमा सुकेको वा गायब भएको भने होइन।
भाइरल भिडियोहरू अर्जेन्टिनाको ब्युनोस आयर्स प्रान्तस्थित समुद्री तटीय सहर मार् डेल प्लाटाको रहेको बताइएको छ। त्यहाँ केही घण्टाका लागि समुद्रको पानी अस्वाभाविक रूपमा पछाडि हटेको थियो। पानी हटेपछि सामान्य अवस्थामा समुद्रमुनि रहने ‘रेस्टिंगा डेल फारो’ नामक चट्टानी संरचना सतहमा देखिएको थियो।
स्थानीय समुद्री विश्लेषणअनुसार तीव्र हावा, वायुमण्डलीय चापमा आएको परिवर्तन र न्यून ज्वारभाटाको संयोजनका कारण समुद्रको पानी अस्थायी रूपमा किनारबाट पछाडि हटेको हो।
समुद्रको पानी यसरी पछाडि हट्ने घटनालाई ‘विन्ड सेटडाउन’ वा मौसमसम्बन्धी न्यून ज्वारभाटासँग जोडेर हेर्ने गरिन्छ। केही घण्टापछि पानी पुनः साविककै तहमा फर्किएको बताइएको छ।
समुद्र अचानक पछाडि हटेपछि सुनामीको आशंका पनि गरिएको थियो। तर, विज्ञहरूका अनुसार मार् डेल प्लाटामा भएको घटना सुनामीसँग सम्बन्धित थिएन। सुनामी सामान्यतया समुद्रमुनि हुने भूकम्प वा पहिरोजस्ता घटनाबाट उत्पन्न हुन्छ।
त्यसैले अर्जेन्टिनाको समुद्र रातारात सुकेको, पृथ्वी फाटेको वा यो कुनै विश्वव्यापी विपद्को संकेत भएको भन्ने दाबी गलत रहेको देखिन्छ। यो तीव्र मौसम र ज्वारभाटाको प्राकृतिक प्रभावका कारण केही समयका लागि देखिएको अस्थायी घटना हो।














प्रतिक्रिया दिनुहोस्