जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार ०९:२०

जेनजी आन्दोलन भएको एक वर्ष पूरा, आज सार्वजनिक बिदा


काठमाडौं, भदौ २३ । जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ। आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। तत्कालीन सरकारले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवाहरूमा बढेको असन्तुष्टि सडक आन्दोलनमा परिणत भएको थियो।

डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी तथा सामाजिक सम्बन्धको महत्वपूर्ण आधार बनिसकेको भन्दै युवाहरूले प्रतिबन्धको विरोध गरेका थिए।

आन्दोलनका क्रममा भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, समान अवसर, पारदर्शिता तथा राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागितालगायतका विषय उठाइएका थिए। सुशासन आन्दोलनको प्रमुख एजेन्डा बनेको थियो।

आन्दोलनपछि देशको राजनीतिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ। आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले पनि राज्य सञ्चालनको महत्वपूर्ण बहसका रूपमा रहेको छ। यद्यपि, युवाहरूले खोजेको परिवर्तन पूर्ण रूपमा संस्थागत हुन नसकेको गुनासो हुँदै आएको छ।

आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। उहाँहरूको सम्झना र सम्मानमा सरकारले सार्वजनिक बिदा दिएको हो।

सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक बैंकिङ सेवा भने सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकले जनाएको छ। प्राकृतिक विपद्पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको छ।