जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार २०:२३

जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएका प्रतिवेदन गायब पारिएको प्रचण्डको आरोप


काठमाडौं, भदौ २३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २३ गते भएको जेनजी आन्दोलन ठूलो षड्यन्त्रमार्फत ‘हाइज्याक’ गरिएको दाबी गर्नुभएको छ।

आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुग्नुभएका प्रचण्डले जेनजी आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनलाई अपहरण गर्नेहरू को थिए भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको हो।

उहाँले भन्नुभएको छ, ‘त्यो घुसपैठ गर्ने को थिए ? र तिनले अहिले देशलाई कहाँ पुर्‍याए ? भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ। समयसँगै सत्यहरू उद्घाटित हुँदै जानेछन्।’

प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सरकारमा रहेका व्यक्तिहरूले गायब पारेको आरोपसमेत लगाउनुभएको छ।

उहाँले भन्नुभयो, ‘म अहिले कसैप्रति आरोप लगाउन चाहेको छैन। तर ती प्रतिवेदनहरू गायब पारिएका छन् भन्ने कुरा फेरि भन्न आवश्यक ठानेको छु। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्य तथ्य के हो ?’

भदौ २४ गते भएको विध्वंसात्मक घटनाका जिम्मेवार को हुन् भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ।

प्रचण्डले आन्दोलनका क्रममा घुसपैठ भएको भन्दै भदौ २३ गते नै घर फर्किन आग्रह गर्नेहरूबाटै त्यसपछिको विध्वंस भएको हुन नसक्ने उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभएको छ।

उहाँले जेनजी आन्दोलनमा भएको घुसपैठ, त्यसपछिका घटनाक्रम तथा त्यसबाट देशमा परेको प्रभावबारे गम्भीर अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएको छ।