जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार २०:२४

नेताहरू सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली


काठमाडौं, भदौ २३ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीका नेता तथा कार्यकर्ता जनताबाट टाढिँदै गएका कारण एमाले कमजोर बनेको बताउनुभएको छ।

मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिवसमेत रहनुभएका ज्ञवालीले पार्टीको कार्यशैली जनपरिचालनभन्दा सरकारी तथा राजसी शैलीतर्फ केन्द्रित हुँदा जनतासँगको सम्बन्ध कमजोर भएको बताउनुभएको हो।

उहाँले एमाले जनपरिचालनमा आधारित पार्टी भए पनि पछिल्लो समय नेताहरूको ध्यान सिडिओ, प्रहरी तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।

‘एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी भयो, राजसी भयो। हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्‍यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ,’ उहाँले भन्नुभएको छ।

ज्ञवालीले फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताउनुभएको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूह निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टीले कमजोर परिणाम व्यहोर्नुपरेको उहाँको भनाइ छ।

‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ उहाँले भन्नुभएको छ, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’

संविधान मिचिँदा तथा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआउनु पार्टी जनताबाट टाढिँदै गएको प्रमाण भएको उहाँले बताउनुभएको छ।

ज्ञवालीले २०७९ को निर्वाचनपछि जनताले एमालेलाई सत्ताभोगी पार्टीका रूपमा बुझ्न थालेको पनि बताउनुभएको छ। २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार पटक–पटक सत्ता समीकरण परिवर्तन गर्नुको कारण पार्टीले जनतालाई स्पष्ट रूपमा बुझाउन नसक्दा नकारात्मक सन्देश गएको हो।

प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर नेपाली कांग्रेससँग सहकार्य गर्नुले पनि जनतामा नकारात्मक सन्देश गएको उहाँले बताउनुभएको छ।

अब एमालेले जनताका समस्या पहिचान गर्ने, ती समस्या उठाउने र समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा ज्ञवालीले जोड दिनुभएको छ।

एमालेको मधेस प्रदेश कमिटीको भेला महोत्तरीको लालगढमा जारी रहेको छ।