काठमाडौं, भदौ २३ । जेनजी शहीद दिवसका अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि आयोजित स्मृति सभामा विवादित पृष्ठभूमि भएका दुई धर्मगुरु अतिथिका रूपमा सहभागी भएका छन्।
स्मृति सभामा आफूलाई धर्मगुरु बताउने विजय भण्डारी र श्रीनिवास आचार्य मञ्चको अग्रभागमा अतिथिका रूपमा बसेका थिए। उनीहरू गृहमन्त्री सुदन गुरुङ, भौतिक पूर्वाधारमन्त्रीलगायतसँगै मञ्चमा रहेका थिए।
कार्यक्रममा जेनजी शहीदका परिवार तथा आफन्त, घाइते, जेनजी अगुवा, मन्त्री, सांसद तथा विभिन्न व्यक्तिहरूको उपस्थिति थियो।
विजय भण्डारी विगतमा धार्मिक कार्यक्रमको आवरणमा ठगी गरेको आरोपमा पटकपटक विवादमा आएका व्यक्ति हुन्। २०६८ सालदेखि सर्वसाधारणसँग रकम उठाएको आरोपमा उनीविरुद्ध ठगीसम्बन्धी मुद्दा चलेको थियो। विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनी पक्राउसमेत परेका थिए।
यस्तै, गुल्मीमा विद्यालय भवन निर्माणका लागि आयोजित महायज्ञबाट संकलित रकमसम्बन्धी विवादमा समेत भण्डारी मुछिएका थिए। वैदेशिक रोजगारीसम्बन्धी कसुरमा समेत उनीविरुद्ध मुद्दा चलेको र २०७५ सालमा वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई कैद तथा जरिबानाको फैसला सुनाएको विवरण सार्वजनिक भएको थियो। पछि २०८१ कात्तिकमा ठगीसम्बन्धी मुद्दामा पीडितसँग रकम फिर्ता गरी मिलापत्र भएको थियो।
भण्डारीसँगै कार्यक्रममा सहभागी श्रीनिवास आचार्य पनि विगतमा विभिन्न विवादमा मुछिएका व्यक्ति हुन्। २०७५ सालमा आफैंमाथि गोली प्रहार गराउन लगाएर साम्प्रदायिक तनाव फैलाउन खोजेको आरोपमा उनी पक्राउ परेका थिए। प्रहरी अनुसन्धानपछि उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो।
त्यसपछि पनि आचार्य विभिन्न अभिव्यक्ति तथा गतिविधिका कारण विवादमा आएका थिए। २०८० सालमा गौहत्यासम्बन्धी अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका उनी सोही वर्ष दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएर उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पुनः पक्राउ परेका थिए।
यसरी विगतमा विभिन्न आरोप तथा विवादमा मुछिएका भण्डारी र आचार्य जेनजी शहीद दिवसको स्मृति सभामा भने अतिथिका रूपमा मञ्चको अग्रभागमा देखिएका हुन्।
यसै कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न राजनीतिक दलका नेता तथा केही सञ्चारकर्मीतर्फ लक्षित गर्दै ‘अझै पनि समय छ, सुध्रिनुस्’ भन्ने अभिव्यक्ति दिनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्