जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ०७:१७

इरानी तेल ट्यांकरमाथि अमेरिकी आक्रमण, ब्रेन्ट कच्चा तेल सय डलर नजिक


काठमाडौं, भदौ २४ । अमेरिका–इरानबीचको बढ्दो सैन्य तनावका क्रममा अमेरिकी सेनाले कच्चा तेल बोकेका पाँचवटा इरानी ट्यांकरमाथि आक्रमण गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानले अमेरिकी नौसैनिक पानीजहाजमाथि दुई दिनमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीस्वरूप ट्यांकरमाथि आक्रमण गरिएको हो।

अमेरिकी सेनाले नेपाली समयअनुसार बुधबार बिहान चारवटा ट्यांकरलाई ओमानको खाडी र एउटा ट्यांकरलाई फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाएको जनाएको छ। आक्रमणअघि ट्यांकरमा रहेका चालक दललाई जहाज छाड्न निर्देशन दिइएको अमेरिकी पक्षले जनाएको छ।

सेन्टकमका अनुसार इरानले अमेरिकी नौसैनिक पानीजहाजमाथि गरेको दुवै आक्रमणको प्रयास असफल भएको छ। घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको अमेरिकी पक्षको दाबी छ।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सेनालाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसलाई मुख्य लक्ष्य बनाएको दाबी गरेको छ।

जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार गरिएका २० वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीबाट आकाशमै नष्ट गरिएका थिए। बाँकी दुई क्षेप्यास्त्र मानव बस्ती नभएको क्षेत्रमा खसेका र घटनामा मानवीय क्षति नभएको जोर्डनको सेनाले जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिनुभएको छ। उहाँले इरानले अमेरिकी जहाजलाई निशाना बनाउन खोजे प्रत्येकपटक इरानले तेल ट्यांकर गुमाउने चेतावनी दिनुभएको हो।

यसअघि पनि अमेरिकी सेनाले तीनवटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको थियो। पछिल्लो कारबाहीसँगै केही दिनको अवधिमा अमेरिकी सेनाले कम्तीमा आठवटा इरानी तेल ट्यांकरलाई निशाना बनाएको अमेरिकी पक्षले जनाएको छ।

अमेरिकाले इरानको विमान उद्योगमाथि समेत नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धबाट २७ वटा इरानी एयरलाइन्स तथा नौवटा सेवा प्रदायक र बिक्री एजेन्ट प्रभावित भएका छन्।

अमेरिका–इरानबीचको बढ्दो तनावको प्रत्यक्ष असर विश्व तेल बजारमा समेत परेको छ। बुधबार प्रारम्भिक कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १.५७ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४९ डलर पुगेको छ।

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर प्रतिब्यारेल ९४.६३ डलर पुगेको छ।

होर्मुज जलमार्गमा बढेको तनाव तथा रेड सी क्षेत्रमा तेल ढुवानीमा देखिएको अवरोधका कारण विश्व बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ। अगस्टको सुरुदेखि ब्रेन्ट कच्चा तेलको मूल्य करिब २५ प्रतिशतले बढिसकेको बताइएको छ।