जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ०७:३५

विस्फोटक पदार्थसहित काठमाडौंमा एक जना पक्राउ


काठमाडौं, भदौ २४ प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्।

काठमाडौं महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ठूलो परिमाणमा पटाका बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट बरामद पटाका अवैध रूपमा भण्डारण गरी बिक्री–वितरण गर्ने उद्देश्यले राखिएको खुलेको छ।

पक्राउ परेका कपालीमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।