जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ०७:४४

भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिका नेपाल ल्याइयो


रुपन्देही, भदौ २४ भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा रहेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवार तथा आफन्तको जिम्मा लगाउन मंगलबार राति नेपाल ल्याइएको छ।

महाराष्ट्र, दिल्ली, झारखण्डलगायत भारतका विभिन्न स्थानबाट उद्धार गरिएका उनीहरूलाई नेपालगन्ज नाका हुँदै रुपन्देही ल्याइएको हो।

नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको संस्थाका निर्देशक नवीन जोशीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी मधेश प्रदेशसहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका हुन्। उनीहरूलाई विभिन्न माध्यमबाट अवैध रूपमा भारत पुर्‍याइएको र जोखिमपूर्ण अवस्थामा फेला परेपछि भारतीय प्रहरी तथा नेपाली दूतावासको समन्वयमा उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका र तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उनीहरूमध्ये पाँच जना बालिका तथा किशोरी रहेका छन्।

जोशीका अनुसार केही बालकलाई मदरसामा पढाउने भन्दै भारत लगिएको थियो। उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको सूचना पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित मदरसामा छापा मारेर उद्धार गरिएको हो।

त्यस्तै, केही बालिका तथा किशोरी घरेलु हिंसा सहन नसकेर घरबाट भागेर भारत पुगेका थिए भने केही बालबालिका दिल्लीका रेल्वे स्टेसनमा अलपत्र अवस्थामा भेटिएका थिए।

भारतका विभिन्न स्थानबाट उद्धार गरिएपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो। अहिले सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउने तयारी गरिएको जोशीले बताउनुभएको छ।

उहाँका अनुसार दुईवटा गाडी भारतको बरेली हुँदै नेपालगन्ज नाका भएर रुपन्देही आएका थिए भने अर्को गाडी पटना हुँदै रुपन्देही पुगेको थियो। बालबालिकासँग ‘किन इन्डिया’का कर्मचारी तथा भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लसमेत नेपाल आएका छन्।

उद्धार गरिएकामध्ये महोत्तरीको सम्सी गाउँपालिकाका ६ जना नाबालकलाई मदरसा पढाउने भन्दै अनधिकृत रूपमा महाराष्ट्रको जलान जिल्लामा पुर्‍याइएको थियो। उनीहरूलाई स्थानीय प्रहरीसँगको समन्वयमा उद्धार गरिएको हो।

यस्तै, झापा, पर्सा र कञ्चनपुरका दुई किशोरी र एक नाबालकलाई दिल्लीबाट उद्धार गरिएको छ। उनीहरू घरायसी हिंसा तथा पारिवारिक झगडाका कारण भारत पुगेका थिए।

पाल्पा र अछामका दुई नाबालकलाई मध्यप्रदेशबाट उद्धार गरिएको छ। उनीहरू पारिवारिक विग्रहका कारण भारत पुगेका थिए। पश्चिम नवलपरासीकी एक नाबालिकालाई झारखण्डबाट उद्धार गरिएकोमा उनी पारिवारिक यौन हिंसाका कारण त्यहाँ पुगेको पाइएको छ।

रौतहट र सिरहाका दुई नाबालिका तथा एक नाबालकलाई बिहारबाट उद्धार गरिएको जोशीले जानकारी दिनुभएको छ।