काठमाडौं, भदौ २४ । रसुवालगायत विभिन्न जिल्लामा गएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्।
प्राधिकरणले बुधबार साँझ ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६३ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वमा २२७, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ।
५८७ विदेशी नागरिकसहित ५ हजार १३२ जना बेपत्ता
बाढी प्रभावित क्षेत्रमा ५ हजार १३२ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बेपत्तामध्ये ५८७ जना विदेशी नागरिक छन्।
रसुवा र नुवाकोटमा स्थानीय बासिन्दासँगै अन्य जिल्लाबाट पुगेका नागरिक, सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा वित्तीय संस्थाका कर्मचारीसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेका छन्।
१३ हजार ६४६ जनाको उद्धार
सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट हालसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकालाई सुरक्षित स्थानमा राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
हाल नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६९४, रसुवामा ६३४ र धादिङमा २६३ जना आश्रित रहेका छन्।
३३३ घाइतेको अस्पतालमा उपचार
विभिन्न १९ अस्पतालमा ३३३ जना घाइतेको उपचार भइरहेको छ भने उपचारपछि २५६ जना डिस्चार्ज भएका छन्।
यसैगरी नेपाली सेनाको स्वास्थ्य शिविरबाट ३ हजार ५३५ र सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ३ हजार ६०६ जनाले स्वास्थ्य सेवा लिएका छन्। विपद्पछि उत्पन्न मानसिक तनाव र आघात न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १५० भन्दा बढी मनोसामाजिक परामर्शदाता परिचालन गरेको छ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार १८५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा हवाई मार्गबाट उद्धार तथा राहत वितरणलाई तीव्र पारिएको छ। प्राधिकरणका अनुसार हालसम्म १ हजार ३४८ वटा हवाई उडान भएका छन्। बुधबार मात्रै ८४ वटा हवाई उडान गरिएको छ।














प्रतिक्रिया दिनुहोस्