जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार २०:४८

विवादित पृष्ठभूमिका व्यक्तिलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए सुशासनको सन्देश


काठमाडौं, भदौ २४ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रममा विवादित पृष्ठभूमिका दुई धार्मिक व्यक्तित्वलाई मञ्चमा राखेर गृहमन्त्री सुधन गुरुङले सुशासनको पक्षमा प्रतिबद्धता जनाउनुभएको छ।

मंगलबार पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पुराना राजनीतिक दललाई लक्षित गर्दै समयमै सुध्रिन आग्रह गर्नुभयो। तर, उहाँसँगै मञ्चमा आचार्य श्रीनिवास र ‘कृष्णमूर्तिजी महाराज’ भनेर चिनिने विजय भण्डारीसमेत अतिथिका रूपमा उपस्थित थिए।

आचार्य श्रीनिवासमाथि विगतमा आफैँमाथि गोली प्रहार गर्न लगाएको आरोपमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको थियो। प्रहरी अनुसन्धानले धार्मिक सहिष्णुतामा खलल पार्ने उद्देश्यले आफैँमाथि गोली प्रहार गर्न लगाएको निष्कर्ष निकालेको थियो। श्रीनिवासले भने उक्त आरोप अस्वीकार गर्दै आउनुभएको छ। उहाँविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको जनाइएको छ।

यसैगरी विजय भण्डारीको विगत पनि विवादमुक्त छैन। पशुपतिनाथ क्षेत्रमा आयोजित कोटीहोमका आयोजकसमेत रहनुभएका भण्डारीमाथि नक्कली प्रहरी रिपोर्ट बनाएको विषयमा प्रहरीले अनुसन्धान गरेको थियो। उहाँ यसअघि ठगी मुद्दामा अदालतबाट सजाय पाएर कैद भुक्तान गरिसकेको विवरणसमेत सार्वजनिक भएको छ।

प्रहरी अनुसन्धानमा भण्डारीले प्रहरी प्रधान कार्यालयबाट प्राप्त हुने प्रहरी चारित्रिक प्रमाणपत्रमा आफूविरुद्धको आपराधिक विवरण नदेखिने गरी रिपोर्ट लिएको विषयमा अनुसन्धान गरिएको थियो। उक्त घटनामा प्रहरी कर्मचारीको समेत संलग्नता हुनसक्ने आशंका गर्दै अनुसन्धान अघि बढाइएको थियो।

यस्ता पृष्ठभूमि भएका व्यक्तिहरू कार्यक्रममा अतिथिका रूपमा सहभागी भइरहेका बेला गृहमन्त्री गुरुङले भने जेनजी आन्दोलनको उद्देश्य सुशासन र राज्य सञ्चालनको शैली परिवर्तन भएको बताउनुभयो।

“भदौ २३ र २४ मा हामी सत्ताको पछाडि थिएनौँ, सुशासनको पक्षमा उभिएर सबै युवा जम्मा भएका थियौँ,” उहाँले भन्नुभयो।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै अब त्यस्तो आन्दोलनमा गोली चलाउने अवस्था आउन नदिने दाबी गर्नुभयो।

कार्यक्रममा आचार्य श्रीनिवासले समेत सम्बोधन गर्नुभएको थियो। उहाँले जेनजी आन्दोलनका घाइतेको उपचार गर्न नसक्नु सरकारका लागि लज्जाको विषय भएको टिप्पणी गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको विषयमा समेत उहाँले असन्तुष्टि जनाउनुभयो।

स्मृति सभा जेनजी परिवार कल्याणकारी समाजले आयोजना गरेको थियो। आयोजक संस्थाका सचिव रोशन गौतमले कार्यक्रममा सहभागी धार्मिक व्यक्तिहरूको पृष्ठभूमिबारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो।

“सबैलाई समेट्ने उद्देश्य थियो, पृष्ठभूमि थाहा भएन,” गौतमले भन्नुभयो।

कार्यक्रमस्थलको टेन्टलगायत व्यवस्थापनमा पनि विजय भण्डारीको संलग्नता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा आचार्य श्रीनिवासले आयोजकलाई सहजीकरण गर्ने तथा महायज्ञमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको थियो।

जेनजी आन्दोलनको स्मृति दिवसमा सुशासन र राज्य सुधारको सन्देश दिइरहँदा विवादित पृष्ठभूमिका व्यक्तिहरूलाई मञ्चमा सहभागी गराइएको विषय भने कार्यक्रमको अर्को चर्चाको विषय बनेको छ।