काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाउनुभएको छ।
बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घरः सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु रहेको दाबी गर्नुभयो।
नयाँ सरकार गठन भएपछि सुदन गुरुङ गृहमन्त्री बनेको खबर पाएलगत्तै आफूले ओलीलाई तत्काल पक्राउ गरिन सक्ने आशंका गरेको उहाँले बताउनुभयो।
त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी रातिको समयमा बालकोट क्षेत्र घेराबन्दी गरेर ओली र लेखकलाई पक्राउ गरिएको शाक्यको भनाइ छ। उहाँले उक्त घटनालाई प्रतिशोधको राजनीतिका रूपमा व्याख्या गर्नुभयो।
शाक्यले भन्नुभयो, “खरानी ग्याङको ग्याङले सम्मानको अर्थ नबुझ्नु पनि स्वाभाविकै हो र उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन। दिउँसो सुदन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर।”
शाक्यले ओली निवासमा खानतलासी हुने हल्ला फैलाएर परिवार तथा स्थानीयवासीमा समेत त्रास सिर्जना गरिएको आरोप लगाउनुभयो।
उहाँले बालकोटमा भएको घटनालाई आफूहरूमाथि गरिएको राजनीतिक प्रतिशोधको उदाहरणका रूपमा प्रस्तुत गर्दै तत्कालीन घटनाबारे आफ्नो असन्तुष्टिसमेत व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्