जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार २१:२३

गृहमन्त्री सुधनको शैलीप्रति रास्वपामै असन्तुष्टि, नेताहरूले उठाए प्रश्न


काठमाडौं, भदौ २४ । गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्ति र कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रै असन्तुष्टि बढेको छ। जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा गुरुङले विपक्षी दल र पत्रकारलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति पार्टीकै नेता तथा सांसदहरूले प्रश्न उठाएका छन्।

जेनजी सहिद कल्याणकारी समाजले भदौ २३ गते आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गृहमन्त्री गुरुङले अन्य दललाई राजनीति सिकाउने शैलीमा अभिव्यक्ति दिनुभएको थियो। विवादित पृष्ठभूमिका धर्मगुरुहरूलाई समेत मञ्चमा राखेर उहाँले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको दाबी गर्नुभएको थियो।

“हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन,” गुरुङले कार्यक्रममा भन्नुभएको थियो, “यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौँ।”

गुरुङको यस्तो अभिव्यक्ति पार्टी सभापति रवि लामिछानेले सार्वजनिक रूपमा दिँदै आएको सन्देशसँग मेल नखाएको भन्दै रास्वपाभित्रै प्रश्न उठेको छ। लामिछानेले पछिल्लो समय अनुभवी पुस्तालाई सम्मान गर्नुपर्ने र विगतलाई दोष लगाएरभन्दा भविष्यको योजना प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा लामिछानेले विगतमा पाका पुस्तालाई अपमान र उपेक्षा गरिएको हुनसक्ने भन्दै आत्मसमीक्षासमेत गर्नुभएको थियो। तर, गृहमन्त्री गुरुङले भने पुरानो राजनीतिक पुस्ताबाट आफूहरूले सिक्नुपर्ने आवश्यकता नरहेको आशयको अभिव्यक्ति दिनुभएको थियो।

गुरुङको पछिल्लो शैलीप्रति रास्वपाका महामन्त्री विपिन आचार्यले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष रूपमा टिप्पणी गर्नुभएको छ।

“अहङ्कारः विनाशस्य मूलम्। अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो,” आचार्यले लेख्नुभएको छ।

त्यसैगरी रास्वपा संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले कार्यक्रमको दृश्य र गृहमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै लेख्नुभएको छ, “श्रव्य–कर्कश । दृश्य–बिझाउने । ‘बदल्छौं’ भन्नेहरू नै बदलिँदै त छैनौं ?”

कार्यक्रममा जेनजी आन्दोलनका घाइते, सहिद परिवार तथा जेलमा रहेका आन्दोलनकारीका परिवारसमेत उपस्थित थिए। कार्यक्रममा गृहमन्त्री गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाइएको थियो।

जेनजी आन्दोलनका घाइते पवन खड्कालाई कार्यक्रम परिसरबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएको विषयले पनि विवाद निम्त्याएको छ। गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आएका खड्कामाथि कार्यक्रममा केही व्यक्तिले दुर्व्यवहारको प्रयास गरेको आरोपसमेत लगाइएको छ।

पत्रकारलाई लक्षित गर्दै गृहमन्त्री गुरुङले दिएको अभिव्यक्तिप्रति पनि रास्वपाकी केन्द्रीय सदस्य एवं सचेतक क्रान्तिशिखा धितालले आपत्ति जनाउनुभएको छ।

उहाँले जेनजी आन्दोलनकै क्रममा अभिव्यक्ति स्वतन्त्रता र सत्ताको निरंकुशताविरुद्ध आवाज उठाएको स्मरण गराउँदै अहिले सरकारलाई प्रश्न गर्नेहरूमाथि धम्की र चेतावनीको भाषा प्रयोग गर्नु उचित नभएको बताउनुभयो।

“पोहोर साल हामीले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ,” धितालले भन्नुभएको छ, “अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ?”

कार्यक्रममा विवादित पृष्ठभूमिका विजय भण्डारी र आचार्य श्रीनिवासलाई अतिथिका रूपमा मञ्चमा राखिएको विषयमा पनि रास्वपा सांसदहरूले प्रश्न उठाएका छन्। उनीहरूको विगत र उनीहरूमाथि भएका अनुसन्धानका विषयलाई लिएर समेत पार्टीभित्र असन्तुष्टि देखिएको छ।

रास्वपा सांसद अमरेशकुमार सिंहले विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको स्मृति कार्यक्रममा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको विषयमा प्रश्न गर्नुभएको छ।

“विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ?” सिंहले प्रश्न गर्नुभएको छ।

गृहमन्त्री गुरुङको कार्यशैलीप्रति पार्टीभित्र यसअघि पनि प्रश्न उठेको थियो। गरिमा चौधरी हत्या प्रकरणमा पीडित परिवारसँग गृह मन्त्रालयमा भएको सहमतिपछि उनीहरूको भिडियो खिचिएको विषयमा समेत महामन्त्री आचार्यले संसद्मै आपत्ति जनाउनुभएको थियो।

पछिल्लो समय गृहमन्त्री गुरुङको अभिव्यक्ति र कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको र केही सांसदहरूले प्रधानमन्त्री बालेन शाह तथा पार्टी सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको स्रोतको दाबी छ।

जेनजी आन्दोलनबाट उदाएको शक्तिको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका गुरुङमाथि आफ्नै पार्टीभित्रबाट उठेका प्रश्नले भने सरकार र रास्वपाको कार्यशैलीबारे थप बहस सिर्जना गरेको छ।