गुल्मी, २४ भदौ । गुल्मी प्रहरीले अवैध रूपमा हातहतियार बनाउने तथा बिक्रीवितरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–५, मानकोट ख्याउडाँडाका बुद्धिबहादुर कामी, प्रेमबहादुर सिंजाली र झगिन बिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुद्धिबहादुरको घर तथा आरनमा खानतलासी गर्दा एकनाले भरुवा बन्दुकसहित हतियार बनाउन प्रयोग हुने विभिन्न औजार र सामग्री बरामद भएको थियो।
प्रहरीका अनुसार बुद्धिबहादुरसँग सोधपुछ गर्दा उनले आफूले बनाएको बन्दुक प्रेमबहादुर सिंजालीलाई बिक्री गरेको खुलेको थियो। त्यसपछि प्रेमबहादुरको घरमा खानतलासी गर्दा थप एकनाले भरुवा बन्दुक फेला परेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी झगिन बिकको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनै जनालाई बरामद हतियार तथा सामग्रीसहित बुधबार सार्वजनिक गरेको छ। बरामद सामग्रीमा विभिन्न आकारका फलामका बन्दुकका नाल ४२ थान, काठको बटसहितको भरुवा बन्दुक, निर्माणाधीन बन्दुकका पार्टपुर्जा तथा अन्य सामग्री रहेका छन्।
त्यस्तै फलामका छर्रा २२५ थान, बन्दुकका चापु तथा अन्य पार्टपुर्जा, गेलेन्डर, ड्रिल तथा वेल्डिङ मेसिन, पित्तलका पाता, हेक्सा ब्लेड, आरी, बसुला, पिलास, फलामको गज र पेचकसलगायत हतियार निर्माणमा प्रयोग हुने औजारसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्