जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार ०७:५४

सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध


काठमाडौं, २५ भदौ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङखोलामा पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

गएराति करिब ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहानैदेखि चारवटा उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। सडक खुलाउन सुरक्षाकर्मी र सडक विभागको टोलीसमेत परिचालन गरिएको छ।

यसअघि कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्गसमेत अवरुद्ध छ। पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं आउने–जाने सवारीसाधन वैकल्पिक सडकमार्फत सञ्चालन भइरहेका छन्।

वैकल्पिक रुटमा सवारीसाधनको चाप बढेपछि हेटौंडा–काठमाडौं जोड्ने विभिन्न तीनवटा सडकखण्डमा ट्राफिक चाप बढेको छ।