जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार ०८:१७

देवीघाटमा सेनाले बनायो नयाँ पुल, आजदेखि पैदलयात्रु र भोलिदेखि सवारीसाधन चल्ने


काठमाडौं, भदौ २५ । नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले नयाँ एक्रो ब्रिज जडान गरेको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको देवीघाटमा आवागमन सहज बनाउन सेनाले पाँच दिनअघि पुल जडानको काम थालेको थियो। सेनाको टोलीले निरन्तर काम गरेर बुधबार राति पुल जडान सम्पन्न गरेको हो।

पुल जडान भएसँगै आजदेखि पैदलयात्रुका लागि आवतजावत खुला गरिने भएको छ। भोलिदेखि भने सवारीसाधनसमेत सञ्चालनमा आउने जनाइएको छ।

भोटेकोशीको बाढीले देवीघाटको पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो। सेनाले छोटो समयमै वैकल्पिक पुल निर्माण गरेपछि स्थानीयवासी, व्यापारी र यात्रुलाई आवतजावतमा सहज हुने भएको छ।