जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार २०:११

कारागारभित्रैबाट बरामद भयो फलामे रड, मोबाइल र १० लाखभन्दा बढी नगद


विराटनगर, भदौ २५ । विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगद, मोबाइल तथा फलामे रडलगायत सामग्री बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गरेको खानतलासीका क्रममा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा र फलामका पाइप बरामद गरेको हो ।

मोरङ प्रहरीका अनुसार यसअघि नाइके र चौकीदारको समूहले उक्त ब्लक कब्जामा राखेर अन्य कैदीबन्दीलाई यातना दिँदै आएको थियो । पीडित कैदीबन्दीहरूले चलाखीपूर्वक ३७ जनालाई ब्लकबाट बाहिर निकालेर प्रहरीको जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई ब्लकभित्र प्रवेश गर्न सहज भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोठा नम्बर १ मा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्ने ठाउँबाट मोबाइल बरामद भएको छ । विकले सिम कार्ड प्रयोग गरेर बाहिर सम्पर्क गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, कोठा नम्बर २ मा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएको स्थानबाट आठ वटा फलामे रड बरामद भएको छ ।

हाल उक्त ब्लकमा ५२९ जना कैदीबन्दी रहेका छन् । प्रतिबन्धित सामग्री कसरी र कसले कारागारभित्र पुर्‍याएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभएको छ ।