सिरहा, भदौ २५ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने आफू एक्लो नेता भएको दाबी गर्नुभएको छ ।
बिहीबार सिरहा पुग्नुभएका प्रचण्डले आफूले तराई–मधेश, राजधानी, चितवन र गोरखाबाट निर्वाचन जितेको उल्लेख गर्दै सबै भौगोलिक क्षेत्रबाट निर्वाचन जित्ने आफू मात्रै पूर्वप्रधानमन्त्री भएको बताउनुभयो ।
‘म मात्रै नेपालमा त्यस्तो पूर्वप्रधानमन्त्री भएँ, जो तराई मधेशबाट पनि निर्वाचन लडेर जित्यो, राजधानीमा पनि निर्वाचन लडेर जित्यो, चितवन भित्री मधेशमा पनि निर्वाचन लडेर जित्यो र गोरखाबाट पनि निर्वाचन लडेर जित्यो र अहिले हिमालीमा छु,’ उहाँले भन्नुभयो, ‘विचार गर्नुस्, अरू कोही छैनन् ।’
देश र राष्ट्रको स्वाधीनता, सामाजिक न्याय, समृद्धि तथा विकासप्रति आफूले ठूलो जिम्मेवारी महसुस गरेको उहाँले बताउनुभयो ।
तराई–मधेश, पहाड र हिमालका नागरिकले आफूलाई माया गरेको उल्लेख गर्दै प्रचण्डले हिमालको सुरक्षाका विषयमा आफूले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको बताउनुभयो ।
‘मलाई तराई मधेशले माया गरेको छ, मलाई पहाडले माया गरेको छ, मलाई हिमालले पनि माया गरेको छ,’ उहाँले भन्नुभयो, ‘मैले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमालको सुरक्षाका लागि गम्भीर ढङ्गले गतसाल आवाज उठाउँदै आएको थिएँ, अहिले मैले उठाएका कुराहरू सत्य साबित भए ।’
संयुक्त राष्ट्रसङ्घका महासचिवलाई नेपाल बोलाएर हिमपहिरो तथा हिउँ पग्लिने प्रक्रियाबाट नेपालमा ठूलो क्षति हुन सक्ने जोखिमबारे जानकारी गराएको उहाँले स्मरण गर्नुभयो ।
आगामी दिनमा शान्ति, सुव्यवस्था, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै एक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्