काठमाडौं, २५ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठन भएको ६ महिना नपुग्दै तीन मन्त्रीले पद छाडेका छन् ।
बजारमा ग्यास अभाव र कालोबजारी हुनुमा उद्योगी–व्यवसायीको भूमिका रहेको अभिव्यक्ति दिएर विवादमा तानिनुभएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिनुभएको छ ।
ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना खेप्दै आउनुभएकी यादवले बुधबार उद्योग समितिको बैठकमा उद्योगीलाई ‘पाता कस्नुपर्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिप्रति केही उद्योगीले प्रधानमन्त्री कार्यालय र सचिवालयमा गम्भीर ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि प्रधानमन्त्रीकै निर्देशनमा सचिवालयमार्फत यादवलाई राजीनामा दिन भनिएको स्रोतको दाबी छ । यादव चैत २७ गते उद्योगमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यादवको राजीनामापछि प्रधानमन्त्री शाहले सुनसरी–४ बाट निर्वाचित सांसद दीपक कुमार साहलाई उद्योगमन्त्री नियुक्त गर्नुभएको छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहनुभएका दीपक साह पनि पदबाट हट्नुभएको थियो । महोत्तरी–२ बाट निर्वाचित साहलाई पदीय मर्यादाको दुरुपयोग गरी लामो समयदेखि निष्क्रिय स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा आफ्नी श्रीमतीलाई नियमित गराएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिकल’ व्यवस्थाअनुसार गत चैत २५ गते पदमुक्त गरेको थियो ।
त्यस्तै, पहिलोपटक गृहमन्त्री भएका बेला सम्पत्ति विवरणलाई लिएर विवादमा परेपछि सुधन गुरुङले छानबिनका लागि भन्दै गत वैशाख ९ गते राजीनामा दिनुभएको थियो ।
गुरुङमाथि लागेको आरोप छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहनुभएको थियो ।
समितिले जेठ २२ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक नगरी प्रधानमन्त्री शाहकै सिफारिसमा जेठ २६ गते गुरुङ दोस्रोपटक गृहमन्त्रीका रूपमा सरकारमा फर्किनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्