जनता टाइम्स

२५ भाद्र २०८३, बिहीबार २०:३२

गरिब जनता महँगीको मारमा पर्ने अवस्था छ : रास्वपा सांसद अधिकारी


काठमाडौं, भदौ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक तथा सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले बाढीले सडक र पुल मात्रै नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसेको बताउनुभयो ।

नागरिक विपत्तिबाट सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उहाँले उल्लेख गर्नुभयो । तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको उहाँले बताउनुभयो ।

वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले बताउनुभयो । यसको प्रत्यक्ष असर चाडपर्वका बेला बजार मूल्यमा पर्न सक्ने उहाँको भनाइ छ ।

‘वैकल्पिक नाका कोरतर्फको भौगोलिक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ । यसले चाडपर्वमै उपभोग्य वस्तुको भाउ आकासिने निश्चित छ,’ उहाँले भन्नुभयो, ‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ । कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्नेछन् ।’

सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरी अवरुद्ध नाका तथा सडक खुलाउन र आपूर्ति व्यवस्था सहज बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।