नुवाकोट, भदौ २५ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले भोटेकोशी बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बाढी आएको दुई सातापछि बिहीबार देउवाले देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणपछि देउवाले बाढीपीडितका लागि प्रभावकारी रूपमा राहत तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढाउनुपर्ने बताउनुभयो । विपत्तिको सामना गर्न पीडितको स्वास्थ्य सुरक्षा र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
बाढीबाट क्षति पुगेका नेपालको सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको समेत पुनर्निर्माण आवश्यक रहेको देउवाले बताउनुभयो ।
काठमाडौंँबाट सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका देउवाले बाढीपीडितसँग भेटघाट गरी उनीहरूका गुनासा सुन्नुभएको थियो । उहाँले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण गर्नुभयो ।
देउवाले नेपाली कांग्रेस नुवाकोटको जिल्ला कार्यालय पुगेर विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीबाट भएको क्षतिबारे जानकारी लिनुभएको कांग्रेस जिल्ला सभापति एवं बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले बताउनुभयो ।
देउवासँगै कांग्रेस नेता डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतले पनि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्