काठमाडौं, भदौ २६ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् ।
हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने कुशेऔँसीमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास छ ।
आज उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ । यस अवसरमा छोराछोरीले जीवित बाबुलाई मिठाइ तथा आफूलाई मन पर्ने भोजन खुवाएर आदर–सम्मान प्रकट गर्दै आशीर्वाद लिने चलन छ ।
बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने गर्छन् ।
यसैबीच, मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । भदौ औँसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधिबाट कुश सङ्ग्रह गरी घरमा राख्ने परम्परा छ ।
मैथिल परम्परामा आज सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य, शुभकार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ । कर्मकाण्डका जानकारहरूका अनुसार हिन्दू परम्पराका अधिकांश धार्मिक कार्यमा कुशको प्रयोग अनिवार्य मानिन्छ ।














प्रतिक्रिया दिनुहोस्