काठमाडौं, भदौ २६ । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा रिक्त ६६६ पदका लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न भर्ना आह्वान गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान र विभिन्न ट्रेडका सशस्त्र प्रहरी परिचर पदका लागि दरखास्त आह्वान गरेको हो ।
कुल ६६६ पदमध्ये सशस्त्र प्रहरी जवान पदमा ६०४ जना माग गरिएको छ । जसमा खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ ।
त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ । जसअन्तर्गत भान्छेमा ३८, कुचिकारमा ८, केशकर्तकमा ७, सूचिकारमा ६, चर्मकर्मीमा २ र माली पदमा १ जनाका लागि आवेदन खुलाइएको छ । यी पदमा पनि खुला तथा समावेशी कोटा निर्धारण गरिएको छ ।
दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउनुपर्नेछ ।
अनलाइनमार्फत फाराम भर्ने आवेदकले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भएर सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ ।
आवेदकको प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्