काठमाडौं, भदौ २६ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउन मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए)’ प्रतिवेदनमा तत्कालीन तथा दीर्घकालीन पुनःस्थापनाका लागि उक्त रकम आवश्यक पर्ने उल्लेख छ ।
प्रतिवेदनअनुसार ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउने, विपद् जोखिम न्यूनीकरण तथा समावेशी पुनःस्थापनाका लागि ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको हो ।
बाढीका कारण ४८ अर्ब २४ करोड रुपैयाँ बराबरका भत्किएका भवनका संरचना थुप्रिएका छन् । त्यस्तै, करिब दुई अर्ब रुपैयाँ बराबरको माटोको थुप्रो रहेको र त्यसलाई हटाउन मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि तत्काल ३५ करोड रुपैयाँ र दीर्घकालीन रूपमा ९४ करोड ४० लाख रुपैयाँ गरी ९४ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जलमार्गमा थुप्रिएको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमान्ड क्षेत्र विकास, नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनःस्थापना र बहुविपद् पूर्वसूचना प्रणाली विकासलगायतका काममा उक्त रकम खर्च हुने प्राधिकरणले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्