जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार ०७:५५

काठमाडौंमा आज मध्यम वर्षा, वाग्मतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, २६ भदौ । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मधेस प्रदेश तथा कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ । मधेस तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।

मधेस तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो र राति वर्षाको सम्भावना रहेको मौसमविद् डेविड ढकालले बताउनुभएको छ ।

उहाँका अनुसार काठमाडौंमा बिहान वर्षा भए पनि दिउँसो पुनः वर्षा हुने सम्भावना छ । उपत्यकाका केही स्थानमा मध्यम तथा केही स्थानमा त्यसको तुलनामा केही ठूलो वर्षा हुनसक्ने उहाँले बताउनुभयो ।

काठमाडौंमा दिनभर निरन्तर वर्षा नहुने भए पनि केही समय फाट्टफुट्टदेखि मध्यम वर्षा हुने र साँझतिर वर्षा केही बढ्नसक्ने मौसमविद् ढकालले बताउनुभएको छ । रातिसमेत काठमाडौंमा वर्षा हुने उहाँको भनाइ छ ।