जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार ०८:०३

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको मृत्यु


काठमाडौं, भदौ २६ । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै गुडिरहेको ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको हो।

आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो। मृतकको परिचय खुल्न सकेको छैन।

आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।