रसुवा, भदौ २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरू सकुशल रहेको हुनसक्ने आशा बढेको बताउनुभएको छ।
खोज तथा उद्धारका लागि प्राविधिक सहयोग मागिएपछि दुई दिनअघि रसुवा पुग्नुभएका घिसिङले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट आवाजको प्रतिध्वनि सुनिनुका साथै चिसो हावा आइरहेकाले फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बढेको बताउनुभएको हो।
उहाँका अनुसार विद्युतगृह पुग्न अब करिब १०० मिटर मात्रै बाँकी छ। मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा जम्मा भएको लेदो, बालुवा र ढुंगा पन्छाउने काम भइरहेको छ।
घिसिङले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको बताउनुभएको छ। उहाँले यसलाई सुरुङभित्र फसेकाहरू सकुशल रहेको हुनसक्ने आशाका रूपमा लिनुभएको छ।
उद्धार कार्यलाई तीव्र बनाउन स्याफ्रुबेँसीतर्फबाट एस्काभेटरमार्फत सुरुङसम्म पुग्ने बाटो खोल्ने काम भइरहेको छ। शुक्रबार नै एस्काभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र त्यसपछि लोडर तथा एस्काभेटरको प्रयोग गरी थुप्रिएको लेदो पन्छाउने कामले थप गति लिने घिसिङले बताउनुभएको छ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन्।














प्रतिक्रिया दिनुहोस्