काठमाडौं, भदौ २६ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनामा ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन थालिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घटनाबारे छानबिन भइरहेको र दोषी देखिए कानूनअनुसार कारबाही गरिने बताउनुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाको जानकारी पाएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट जवाफ प्राप्त भइसकेको जानकारी दिनुभयो।
उहाँका अनुसार घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि समेत छानबिन भइरहेको छ।
भदौ २४ गते बिहान ३० वर्षीया बबिताकुमारी पासवानले अस्पतालको मूल गेटबाहिर शिशुलाई जन्म दिनुभएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटना सार्वजनिक भएपछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिइएको मन्त्री मेहताले बताउनुभयो। अहिले आमा र शिशुलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी उपचार तथा स्याहार भइरहेको उहाँले जानकारी दिनुभयो।
घटनाको छानबिनबाट दोषी देखिएका व्यक्तिमाथि कानूनअनुसार कारबाही गरिने मन्त्री मेहताले प्रतिबद्धता जनाउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्