जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार २१:०१

सरकारको रवैया देखेर जनता जनादेश फिर्ता गर्ने पक्षमा पुगिसके : महेश बस्नेत


काठमाडौं, भदौ २६ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधिप्रति जनता निराश भइसकेको दाबी गर्नुभएको छ ।

शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरी नयाँ पुस्तामा भ्रम सिर्जना गरेर वर्तमान सरकार निर्माण गरिएको दाबी गर्दै उहाँले सुशीला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको बताउनुभयो ।

जनतामा अहिले ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भइसकेको उहाँको भनाइ थियो ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै बस्नेतले संसद् पुनःस्थापना गरेर गलत अभ्यास सच्याउनुपर्ने बताउनुभयो ।

एमालेले यस विषयलाई आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने उहाँले दाबी गर्नुभयो ।