जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०७:५३

आज धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ २७ । आज बिहान देशका धेरै ठाउँको मौसम सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ भने मधेशका केही स्थानमा छिटपुट वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा उदयपुरको गाईघाटमा सबैभन्दा धेरै ५५ दशमलव २ मिलिमिटर र उदयपुरगढी मौसम मापन केन्द्रमा ५२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।