जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०८:०२

भोटेकोशी बाढीपछि टिमुरेदेखि त्रिवेणीसम्म प्रहरीको विशेष अपरेशन


काठमाडौं, भदौ २७ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई व्यवस्थित र तीव्र बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष अपरेशन सञ्चालन गरेको छ ।

विशेष अपरेशनअन्तर्गत खोज तथा उद्धारमा ड्रोन र कुकुरको प्रयोग, होल्डिङ सेन्टर व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनःस्थापना, डीएनए प्रोफाइलिङ तथा ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत बाढी प्रभावित जिल्लाका प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइएको छ ।

भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा बाढीले बगाएका वा बेपत्ता भएका व्यक्ति जीवितै हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर खोज तथा उद्धार गर्न मातहतका युनिटलाई निर्देशन दिइएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार नदी किनार, भग्नावशेषलगायत सम्भावित स्थानमा प्रहरी टोली परिचालन गरिएको छ ।

कठिन भौगोलिक अवस्थाका कारण खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन तथा केनाइनको प्रयोगमा विशेष जोड दिइएको उहाँले बताउनुभयो । टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको उहाँको भनाइ छ ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका विभिन्न क्षेत्रमा प्रहरीले खोज तथा उद्धार, शव सङ्कलन, घटनास्थल व्यवस्थापन, पोस्टमार्टम तथा शव पहिचानमा सहजीकरण गरिरहेको छ ।

डीएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन तथा शवको सुरक्षित व्यवस्थापनमा समेत प्रहरी सक्रिय रहेको जनाएको छ । उद्धारकर्ता र केनाइन पुग्न नसक्ने दुर्गम तथा जोखिमयुक्त स्थानमा ड्रोनमार्फत बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण अवरुद्ध सडक खुलाउन तथा सडक सञ्जाल नभएका क्षेत्रमा तुईनमार्फत सुरक्षित आवतजावतमा समेत प्रहरीले सहजीकरण गरिरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा फेला पर्ने शव तथा शरीरका अङ्गको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न तथा भेटिएका नगद, सुनचाँदी, बैंक कार्ड र महत्वपूर्ण सरकारी तथा व्यक्तिगत कागजात सम्बन्धित धनीलाई हस्तान्तरण गर्नसमेत आग्रह गरेको छ ।