काठमाडौं, भदौ २७। त्रिशूली नदीको निरन्तर कटानका कारण धादिङको कृष्णभिरमा पृथ्वी राजमार्गको करिब १५० मिटर सडक भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउन चुनौती थपिएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको हो । सडकको माथिल्लो भागमा समेत चिरा देखिएपछि थप जोखिम बढेको छ ।
तत्काल सडक सञ्चालनमा ल्याउन कृष्णभिरकै भित्तो काटेर करिब सात मिटर चौडाइको अस्थायी डाइभर्सन निर्माण भइरहेको छ । सडक विभागका अनुसार दुवैतर्फबाट भित्तो काट्ने काम भइरहेको छ ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार अहिले परीक्षणका रूपमा डाइभर्सन खोल्ने काम भइरहेको छ । भिरको तल्लो भागमा कटान गर्दा जमिन थर्किएर चिरा देखिए पनि मुख्य चट्टानमा असर नपरेको प्रारम्भिक निष्कर्ष रहेको उहाँले बताउनुभयो ।
डाइभर्सन निर्माणको जिम्मेवारी पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई दिइएको छ । करिब १५० मिटर लम्बाइमा भित्तो काटेर अस्थायी सडक बनाउने काम भइरहेको छ । लगातारको वर्षाका कारण भने काम चुनौतीपूर्ण बनेको छ । भित्तो काट्दा थप पहिरो खस्न सक्ने तथा त्रिशूलीको जलस्तर बढ्दा तल्लो भागमा पुनः कटान हुन सक्ने जोखिम कायमै छ ।
भूगर्भविद् संजोग खनालका अनुसार तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने दबाबका कारण जोखिमका बीच काम गर्नुपरेको छ । उहाँका अनुसार अहिले पहिलो प्राथमिकता सडक सञ्चालनमा ल्याउनु भए पनि त्यसपछि कृष्णभिरको चिरा र भूधरातलको विस्तृत अध्ययन आवश्यक छ ।
सडक विभागले निर्माण गर्न लागेको डाइभर्सनलाई स्थायी समाधानका रूपमा भने लिएको छैन । भूप्राविधिक अवस्था र त्रिशूली नदीको कटानको जोखिम मूल्याङ्कन गरेपछि मात्र दीर्घकालीन संरचना निर्माण गर्ने विषयमा निर्णय गरिनेछ ।
कृष्णभिरको जोखिमबारे पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठकसमेत बसेको थियो । बैठकले तत्काल राजमार्ग सञ्चालनमा ल्याउनुपर्ने भए पनि थप जोखिम नहुने गरी प्राविधिक डिजाइन तयार गर्न निर्देशन दिएको छ । त्यसका लागि जियोटेक्निकल सोसाइटीलाई समेत प्राविधिक डिजाइनको जिम्मेवारी दिइएको छ ।
दीर्घकालीन समाधानका लागि कृष्णभिरकै भित्तो काटेर सडक सञ्चालन गर्ने तथा त्रिशूली नदीको पारिपट्टिबाट गोरखा हुँदै बेनीघाटतर्फ सडक लैजाने विकल्पमा अध्ययन भइरहेको छ । सुरुङमार्ग निर्माण वा नदीको पारिपट्टि पुल बनाएर सडक लैजाने विकल्पसमेत अध्ययनको विषय बनेको छ ।
विज्ञहरूले कमजोर भूधरातल रहेको कृष्णभिरमा विस्तृत भूप्राविधिक अध्ययन नगरी स्थायी संरचना निर्माण गर्दा भविष्यमा पुनः ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन् ।
कृष्णभिरमा यसअघि निर्माण गरिएका रिटेनिङ वाललगायत संरचनाको डिजाइन र नदी कटानको जोखिम मूल्याङ्कनमाथि समेत समीक्षा आवश्यक रहेको भूगर्भविद्हरूले बताएका छन् । रसुवाको बाढीपछि त्रिशूलीमा बढेको पानीको बहाव र धार परिवर्तनले सडकको आधारमा ठूलो असर गरेको बताइएको छ ।
कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने यो राजमार्ग बन्द हुँदा काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने यातायात व्यवस्थामा प्रत्यक्ष असर परेको छ । चाडपर्व नजिकिँदै गर्दा राजमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्ने दबाबसमेत बढेको छ ।
यसअघि २०५६ सालमा कृष्णभिरमा ठूलो पहिरो गएको थियो । त्यसबेला सडकलाई तलबाट उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो । गत वर्ष पनि सोही क्षेत्रमा सडक केही भासिएपछि मर्मत गरिएको थियो । यसपटक भने त्रिशूली नदीले सडकको तल्लो आधार नै कटान गरेपछि समस्या थप गम्भीर बनेको हो ।
अहिले सडक खुलाउनु तत्कालको प्राथमिकता भए पनि डाइभर्सन सञ्चालनमा आएपछि यसको सुरक्षा र स्थायित्व मुख्य चुनौती हुनेछ । बाढीको जोखिम कायम रहेकाले नियमित निगरानी र जोखिम मूल्याङ्कन आवश्यक हुने विज्ञहरूको भनाइ छ ।
सडक विभागका अनुसार भूप्राविधिक अध्ययनबाट सुरक्षित देखिएमा मात्र डाइभर्सनलाई थप विस्तार वा दीर्घकालीन संरचनाका रूपमा विकास गरिनेछ । त्यसैले कृष्णभिरको दीर्घकालीन समाधान सडक त्यहीँ राख्ने कि वैकल्पिक रुटबाट लैजाने भन्ने निर्णयमा निर्भर हुनेछ ।














प्रतिक्रिया दिनुहोस्