जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०८:१४

विपद्मा सरकारको स्टनबाजी, विदेशी विज्ञलाई १० दिन रोक्नु सामान्य कमजोरी होइन : केपी ओली


काठमाडौं, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्मा परेका नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेको र विदेशी विज्ञलाई समेत १० दिनसम्म रोक्नु सामान्य कमजोरी नभएको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालयमा स्वयंसेवकहरूलाई विपद्का विषयमा जानकारी दिँदै अध्यक्ष ओलीले उद्धारमा आफ्ना सबै काम छाडेर खटिएका कार्यकर्तालाई धन्यवाद दिनुभएको हो ।

उहाँले विपद्का बेला सरकारको आलोचना गर्ने समय नभए पनि पटक–पटक गम्भीर कमजोरी दोहोरिएकाले खबरदारी गर्नुपरेको बताउनुभयो । सरकारले उद्धारका काममा प्रयोग हुनुपर्ने हेलिकोप्टर आफैंले नियन्त्रणमा राखेको र उद्धारमा खटिन चाहने संस्था तथा विज्ञलाई पर्याप्त अवसर नदिएको उहाँको आरोप छ ।

अध्यक्ष ओलीले विदेशी विज्ञहरू नेपाल आए पनि १० दिनसम्म उनीहरूलाई प्रवेश गर्न नदिइएको र सरकारले आफैं पनि सुरुङमा फसेकाहरूको उद्धार गर्न नसकेको बताउनुभयो । उहाँले यस्तो अवस्था सामान्य कमजोरी नभएको दाबी गर्नुभयो ।

उहाँले सुरक्षा निकायलाई अनावश्यक दबाबमा काम नगर्न र कानुनविपरीतका गतिविधि नगर्न आग्रहसमेत गर्नुभयो । यस्ता कमजोरी गर्नेहरू सधैं सत्तामा नरहने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले सरकारमा रहेकाहरूमा सामान्य राजनीतिक चेतनासमेत नभएको आरोप लगाउनुभयो । उहाँले आफूहरूले लामो राजनीतिक संघर्ष र जेलनेल भोगेर आएको उल्लेख गर्दै सरकारलाई विपद्का बेला सहयोग गर्न एमाले तयार रहे पनि सरकारले सहयोग लिन नचाहेको बताउनुभयो ।

एमालेले आफ्नै ठूलो जनशक्ति परिचालन गरेर उद्धार तथा राहतमा काम गरिरहेको उहाँले बताउनुभयो । विपद्मा खटिएका पार्टीका कार्यकर्ताको योगदान पीडित जनताले देखेको उहाँको भनाइ थियो ।

सरकारलाई सुझाव र खबरदारी गर्न पाइने भए पनि स्टनबाजी गरेर प्रभावकारी सेवा दिन नसकिने भन्दै अध्यक्ष ओलीले संघीय सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो ।

बागमती प्रदेश सरकारले विपद्का बेला गरेको कामको प्रशंसा गर्दै उहाँले केन्द्र सरकारले भने प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो । शिक्षा र उद्धारका क्षेत्रमा बागमती प्रदेशले काम गरेर देखाएको तर केन्द्र सरकारले निर्माण नभएको बेलीब्रिज बनेको भन्दै प्रचार गर्न लगाएको उहाँको दाबी थियो ।

एमाले विपद्का बेला जनताको साथमा रहेको बताउँदै अध्यक्ष ओलीले पार्टीका कार्यकर्तालाई पीडितको परिचय हेरेर नभई आवश्यकताका आधारमा सेवा गर्न निर्देशन दिनुभयो । एमाले स्टनबाजी, भेदभाव र पक्षपात गर्ने पार्टी नभएको उहाँले बताउनुभयो ।