काठमाडौं, भदौ २७ । लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सोही राजमार्गअन्तर्गत बेनीघाट रोराङ–१० जवाङखोला र शितलबजार क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा बन्द छ । रसुवाका अन्य मुख्य सडकमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।
नुवाकोटको बेत्रावती–१० सिमटारमा बाढी आएपछि पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ ।
टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
बीपी राजमार्गको काभ्रे खण्डअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी क्षेत्रमा भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी सञ्चालन गर्न दिइएको छ ।
यता कर्णाली प्रदेशमा कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षा र पहिरोका कारण सडकहरूमा जोखिम कायमै रहेकाले यात्रा गर्दा सम्बन्धित निकायको पछिल्लो सूचना हेरेर मात्र आवतजावत गर्न प्रहरीले आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्