जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०८:२८

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना अझै बेपत्ता


काठमाडौं, भदौ २७ । भदौ १० गते आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता रहेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै रसुवाका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदार छन् ।

रसुवाका विभिन्न आयोजनाबाट मात्रै ६६८ जना बेपत्ता रहेको इप्पानले जनाएको छ । जसमध्ये माथिल्लो त्रिशूली–१ का ५३८, रसुवागढीका ९३, रसुवा भोटेकोशीका ३, लाङटाङ खोलाका ३९, चिमिमेका ६ र मैलुङका ५ जना छन् ।

इप्पानका अनुसार त्रिशूली आयोजनाका ३, देविघाटका १, माथिल्लो त्रिशूली–३एका ३९, माथिल्लो त्रिशूली–३बीका २७८ र मिडल त्रिशूलीगंगाका २ जना पनि बेपत्ता छन् ।

इप्पानले सार्वजनिक गरेको यो विवरण शुक्रबारसम्मको हो ।