जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार १२:५९

प्रभावित क्षेत्रको निरीक्षणपछि प्रचण्डको सुझाव– जलवायु न्यायको मुद्दा विश्वमञ्चमा उठाउनुस्


काठमाडौं, २७ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र जलवायु न्यायको मुद्दा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको छ ।

शनिबार धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भदौ १० गते आएको विपत्ति सामान्य बाढी नभई प्रलयजस्तो भएको बताउनुभयो ।

उहाँले असाधारण रूपमा आएको विपत्तिको प्रमुख कारण जलवायु परिवर्तनको असर रहेको बताउँदै हिमालमा हिउँ पग्लिने, पहिरो जाने र हिमताल विस्फोट हुने क्रम बढ्दै गएको उल्लेख गर्नुभयो । यसले मानव जातिमाथि नै गम्भीर चुनौती थपिएको उहाँको भनाइ छ ।

पछिल्लो विपत्तिले विश्वको ध्यान नेपालका हिमाल र जलवायु परिवर्तनका असरमा थप केन्द्रित गराएको प्रचण्डले बताउनुभयो । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरे पनि विकसित राष्ट्रहरूले जलवायु न्याय र ‘लस एन्ड ड्यामेज फन्ड’ सम्बन्धी प्रतिबद्धता पूरा गर्न नसकेको उहाँले बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे आवाज उठाएको उहाँले स्मरण गर्नुभयो । त्यही क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल आएर हिमाल पग्लिँदै गएको अवस्थाको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको र त्यसले विश्वमा महत्वपूर्ण सन्देश प्रवाह गरेको उहाँले बताउनुभयो ।

पछिल्लो विपत्तिले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षित गरेको भन्दै प्रचण्डले अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चलाई यो विषय उठाउनबाट खाली राख्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन लागेको सन्दर्भमा प्रचण्डले नेपालले भोगिरहेको जलवायुजन्य क्षति, हिमालको अवस्था, जलवायु न्याय तथा क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभएको हो ।