जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार ०७:४६

कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा


काठमाडौं, भदौ २८ । गण्डकी प्रदेशका केही क्षेत्रमा पछिल्लो २४ घण्टामा धेरै भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ ।

लमजुङको फलेनी मापन केन्द्रमा पनि १०९.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको छ । उक्त वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।

महाशाखाका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी र १० देखि ५० मिलिमिटरसम्म वर्षालाई मध्यम वर्षा मानिन्छ ।