काठमाडौं, भदौ २८ । भोटेकोशी बाढीबाट ज्यान गुमाएका १ हजार ३८६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी बेपत्ता भएकामध्ये उक्त संख्यामा शव फेला परेको हो।
फेला परेका शवमध्ये १०२ जनाको सनाखत भएको छ। चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। फेला परेकामध्ये ५१० जनाको आंशिक मानव अंग मात्र रहेको छ।
प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ५८७ जना विदेशी नागरिक छन्। उनीहरूको खोजी तथा उद्धारमा नेपाली सेना र नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन्।
हालसम्म १३ हजार ७२८ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यका लागि हालसम्म १ हजार ४८२ पटक हेलिकोप्टर उडान गरिएको प्राधिकरणले जनाएको छ।
शव पहिचानका लागि हालसम्म १ हजार २८६ मृतक र १ हजार ७७९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।














प्रतिक्रिया दिनुहोस्