रुकुम, २८ पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन सकेको छैन । चार जना गम्भीर घाइते छन् भने पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
जिपमा ११ जना सवार रहेको र जिप साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको वडाध्यक्ष घर्तीले बताउनुभयो ।
घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ । जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्