जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:१७

शहरी बाढीको जोखिम घटाउन महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने


काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिकाले शहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर सुनिता डङ्गोलले वर्षाको पानी संकलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

थोरै वर्षा हुँदा पनि काठमाडौंमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढ्दै गएको भन्दै उहाँले वर्षाको पानी व्यवस्थापन र जमिनको पुनर्भरणलाई प्राथमिकता दिन लागिएको बताउनुभयो ।

विगत तीन दशकमा भएको अव्यवस्थित शहरीकरण तथा संरचना निर्माणका कारण काठमाडौंमा ‘अर्बन फ्ल्यास फ्लड’ अर्थात् शहरी बाढीको समस्या बढेको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो ।

वर्षा हुँदा रातभर विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले तत्काल गर्न सकिने कामबाटै शहरी बाढीको समस्या समाधानको सुरुवात गर्न अभियान अघि बढाउन लागिएको स्पष्ट पार्नुभयो ।

महानगरपालिकाले शहरी बाढीको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययनसमेत गरिरहेको जनाएको छ । अध्ययनका आधारमा विपद् व्यवस्थापनका थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।