जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:२३

कृष्णभीरमा सडक आंशिक सञ्चालनमा, ग्यास बुलेट र हेभी इक्युपमेन्टलाई प्राथमिकता


काठमाडौं, भदौ २८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।

दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारी आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएपछि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ ।

भित्तातर्फ नाली निर्माणको काम बाँकी रहेकाले बिहीबारसम्म उक्त काम पूरा गरी सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जैसीले बताउनुभयो ।

यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता तथा आवागमनको अवस्था परीक्षण गरिएको थियो ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । त्यसयता उक्त मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौं आवतजावत गरिरहेका थिए ।