जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:३०

ओलीको आग्रह– धैर्य गर्नुस्, निष्क्रिय नबस्नुस्, प्रतिगामी कदम लामो समय टिक्दैन


काठमाडौं, भदौ २८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने बताउनुभएको छ ।

आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेकाले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसकिने बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनको यात्रामा राणा शासन, पञ्चायत र अधिनायकवादी सोचले विभिन्न समयमा अवरोध पुर्‍याए पनि जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढेको उहाँको भनाइ थियो । आन्दोलनमा कहिलेकाहीँ गति सुस्त भए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने उहाँले बताउनुभयो ।

ओलीले राणा शासन १०४ वर्ष र पञ्चायत व्यवस्था करिब ३० वर्ष चलेको तथा तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ गते त्यसको अन्त्य भएको स्मरण गर्नुभयो । त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र समाप्त भएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने दाबी गर्नुभयो ।

‘अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन,’ उहाँले भन्नुभयो ।

ओलीले समर्थक तथा नागरिकलाई धैर्य राख्न आग्रह गर्दै निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिनुभयो । संघर्षबाट पछि हट्दा उपलब्धि गुम्न सक्ने भन्दै उहाँले अधिकार र स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाइरहन आग्रह गर्नुभयो ।

‘धैर्य गर्नुस्, तर पर्खेर बस्न होइन । आफ्नो आवाज निरन्तर उठाइरहनुपर्छ,’ उहाँले भन्नुभयो, ‘गिभअप नगर्नुहोस्, ह्यान्ड्सअप नगर्नुहोस् । तपाईंहरूको आवाज सही छ । त्यसलाई निरन्तरता दिनुहोस् ।’

उहाँले जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न नसकिने बताउँदै संघर्षबाट पछि नहट्न आग्रह गर्नुभयो ।