जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:३३

हरितालिका तीजमा सोमबार बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने


काठमाडौं, भदौ २८ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका सोमबार बिहान ३ बजेदेखि खुल्ने भएका छन् ।

भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भक्तजनलाई सहज रूपमा दर्शन गराउन मन्दिरबाहिर पाँच र मन्दिर परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ । तीजमा महिला भक्तजनको संख्या उल्लेख्य हुने भएकाले थप महिला सुरक्षाकर्मी परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । अन्य सवारीसाधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्डमा पार्किङस्थल तोकिएको कोषले जनाएको छ ।